काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध विश्वासको दिशातिर अघि बढेको छ। अविश्वास र आशंकामा रहेको भारत-नेपाल सम्बन्ध अब विश्वासको दिशातिर अगाडि बढेको विश्वास गरिएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध स्थिरतातिर तर्फ अघि बढेको बताए। उनले भने, ‘सम्बन्ध उतारचढावबाट गुज्रिइरहेको थियो। अलि स्थिर सम्बन्धतिर गएको रूपमा बुझ्नुपर्छ। धेरै भइहाल्यो, चकाचौंध भइहाल्यो भन्ने पनि हामीले सोच्नुहुँदैन, तर जुन जटिलता, अविश्वास र आशंकामा भारत-नेपाल सम्बन्ध गुज्रिइरहेको थियो, अब एउटा विश्वासको दिशातिर अगाडि बढेको संकेत हामी पाउँछौं।’
सीमा विवादलाई टुंग्याउने सन्दर्भमा पनि भारतीय पक्ष सकारात्मक देखिएको गजुरेलले बताए। उक्त विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणको महत्त्वपूर्ण परिणामका रुपमा लिइने उनको विश्वास छ। गजुरेलले भनेका छन्, ‘सीमा समस्याको बहस, छलफल अनन्तकालदेखि चलिआएको छ। अझै पनि चलिरहेको छ। केही समय जटिल पनि चल्यो। अब सहज सम्बन्ध बनाएर विश्वासको वातावरण बनाएर हल गर्नुपर्छ। सिमानाको विषय अलि जटिल नै छ, सरल छैन।’
प्रधानमन्त्री प्रचण्डको भ्रमणमा नेपाल र भारतबिच क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता भएको छ। अब वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तर्देशीय) भुक्तानी प्रणाली सञ्चालन गरिने भएको छ। हाल यस्ता काम गरिरहेका नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबिच सम्झौता भएको हो।
यस्तो सम्झौतामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रस बोर्डर भुक्तानी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि अब नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैङ्किङको माध्यमबाट क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन्।
प्रचण्डले क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। अब नेपाल र भारत मिलेर फुकोट कर्णाली हाइड्रोपावरलगायतका आयोजनामा काम गर्ने भएका छन्। त्यस्तै, अमलेखगन्जको पाइप लाइनलाई विस्तार गरी चितवनसम्म पुर्याउने र झापा-सिलिगुडी नयाँ पेट्रोलियम पाइपलाइन बनाउने पनि समझदारी भएको छ।
मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने विषयमा दुई जना बीच छलफल भएको समेत पत्रका सम्मेलनमा जानकारी दिएका छन्। मोदीले नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै सीमालगायत अन्य समस्या समाधान गरिने समेत बताएका छन्।



लोकपाटी न्यूज

