काठमाडौं। नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।
केन्द्रीय गठबन्धन रहेका दलहरूसँग समन्वय गरेर कांग्रेस नेतृत्वको सरकार बनाउने निर्णय भएको प्रदेश सांसद हिमाल कार्कीले जानकारी दिए। ‘प्रदेशमा अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने निर्णय हामीले गरेका छौं,’ उनले भने, ‘गठबन्धनको सबैभन्दा ठूलो दल हुनुको नाताले हाम्रो दाबी स्वाभाविक हुन्छ।’
नेकपा माओवादी केन्द्रको मंगलबार बसेको प्रदेश संसदीय दल र पार्टी पदाधिकारीको बैठकले कोशी सरकार छाड्ने निर्णय गरेको थियो। संयुक्त बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउन र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिएका छन्।
माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।



लोकपाटी न्यूज

