गण्डकी। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज यहाँ आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।
विना विभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, सीताकुमारी सुन्दास र पञ्चराम गुरुङले शपथ ग्रहण गरेका हुन्। चुमान नेकपा (माओवादी केन्द्र), सुन्दास नेकपा (एमाले) र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि आजै प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री अधिकारीलाई प्रदेशसभा कूल ६० सदस्यमध्ये सत्ता गठबन्धनका ३२ सहित एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ। नवनियुक्त मुख्यमन्त्री गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा कास्की-१ (१) बाट निर्वाचित भएका थिए।
विसं २०७४ मा कास्की-१ बाट निर्वाचित भएर संघीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मिएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए।
विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक मुद्दामा पटक पटक बन्दी जीवन बिताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए। अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो।
उनी पार्टीको सचेतक, पोलिटब्युरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुन्। अधिकारी एमालेको संगठन विभाग प्रमुखसमेत हुन्। एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा हुँदा उनले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह-इञ्जार्चको जिम्मेवारी पाएका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफ्नासामु असाधारण जिम्मेवारी आएको बताए। सबै राजनीतिक दलहरूका बीचमा सहमति र सहकार्य गर्दै अगाडि मुख्यमन्त्री अधिकारीको भनाइ छ। उनले समुन्नत गण्डकीको लक्ष्य साकार पार्न संघ र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए।



लोकपाटी न्यूज

