कर्णालीमा कुन दलको अवस्था कस्तो ?

Election_Dal
लोकपाटी न्यूज

कर्णाली। विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पुर्‍याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ। यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो। उक्त गठबन्धनले २० सिट जितेको थियो। यसपालिको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ। एमाले पाँच सिटमा विजयी भएको छ।

एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ। अघिल्लो निर्वाचन जित्नुभएका सुर्खेत क्षेत्र नं २ (१) का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यस पटक पुनः दोहोरिएका छन्। शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन्।

कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः दोहोरिन सफल भएका छन्। अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन्। निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन्। कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली काँग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। काँग्रेस र माओवादी केन्द्रले नौ/नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ।

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा (२)बाट काँग्रेस तथा हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भए। मुगु प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मंगलबहादुर शाही निर्वाचित भए।

यस्तै जुम्ला प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी भएका छन्। डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय भएका छन्।

त्यस्तै, कालिकोट प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा काँग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए। दैलेख क्षेत्र नं १ (१) र (२) मा काँग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार बिसी विजयी भए। दैलेख क्षेत्र नं २ (१) मा काँग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी भएका छन्।

यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा काँग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भएका छन्। सुर्खेत क्षेत्र नं २ (१) मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन्।

यस्तै सल्यान प्रदेशसभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा काँग्रेसका सुरेश अधिकारी निर्वाचित भए। रुकुम-पश्चिम प्रदेशसभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित भए। जाजरकोट प्रदेशसभा (१) र (२) मा काँग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित भए। प्रदेशसभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कुर्मराज शाही यस पटक पराजित भएका छन्।

कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरू

सुर्खेत क्षेत्र नं १ (१) बाट काँग्रेसका खड्ग पोखरेल र १(२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१) बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) बाट काँग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२) बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१) र (२) बाट काँग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन्।

त्यस्तै, डोल्पा प्रदेश (१) बाट एमालेका शेरबहादुर बुढा, जुम्ला (१) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२) बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२) बाट माओवादी केन्द्रका मङ्गलबहादुर शाही, हुम्ला (१)बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालिकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दैछन्।

कालिकोट (१) का दुर्गबहादुर रावत यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। दैलेख क्षेत्र नं १ (१) र (२) का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार बिसी, क्षेत्र नं २ प्रदेश (१) बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन्। प्रदेशसभा (२) बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्