हाम्रा चाडपर्वका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं, १६ असोज। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दशैं, तिहार, छठ, नेपाल सम्बवत्, ल्होसार लगायतका चाडपर्वहरूको आफ्नै पृष्ठभूमि, मौलिक र मूल्यहरू भएको बताएका छन्।

आइतबार फूलपातीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। सन्देशमा प्रचण्डले भनेका छन्, ‘‘दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो। हामी नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता हो।’’

‘‘हाम्रा सबै प्रमुख चाडहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन्’’ प्रचण्डले भनेका छन्, ‘‘देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो। हाम्रा यिनै सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु।’’

सन्देशमा प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमनविरोधी मोर्चालाई मतदान गरी प्राप्त उपलब्धिको रक्षा र सुदृढीकरण गर्नसमेत अपील गरेका छन्। ‘‘सांस्कृतिक पर्वहरूको श्रृंखलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं। आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमनविरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनु हुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु’’ उनले सन्देशमा भनेका छन्।

‘‘अन्त्यमा, असत्यमाथि सत्यको विजयका रुपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै पुनः एकपटक उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’’ प्रचण्डको सन्देशमा भनिएको छ।