निर्वाचन २०७९ : के-के चाहिन्छ उम्मेदवार बन्न योग्यता ?

लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फ उम्मेदवारलाई असोज २६ गते चुनाव चिह्न प्रदान गर्ने भएको छ।

मनोनयन दर्ताका लागि असोज २३ गतेदेखि २६ गतेसम्म समय तोकिएको छ। ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ, ‘मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ।’

त्यस्तै, आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार हुन मापदण्ड पनि निर्धारण गरेको छ। जसअनुसार मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ। मनोनयन पत्र दर्ताका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ।

उम्मेदवारी दिन व्यक्ति कुनै संघीय कानुनले अयोग नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि उल्लेख छ। आयोगले मनोनयन पत्र दर्ताका लागि शुल्क पनि तोकेको छ। जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने छुटको व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्