काठमाडौं। भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ। यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। तर, सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्या हुने गरेको छ। अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ।
शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वास्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ।
भिटामिन डी के हो ?
भिटामिन डीलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ। यो पोषक तत्त्व हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा बन्छ। मानिसको शरीरमा प्रवेश गरेपछि यसले क्याल्सियम र फोस्फेटजस्ता तत्त्वलाई ग्रहण गर्न शरीरलाई सहयोग गर्छ। यी तत्त्वहरू स्वस्थ दाँत, मांसपेशी र हड्डीका लागि अत्यावश्यक भएको अनुसन्धानले देखाएको छ।
अध्ययनहरूले गम्भीर प्रकृतिका रिकेट्स, अस्टिओमलेसिआ र अस्टिओपरोसिसजस्ता हड्डीसम्बन्धी रोगहरू गम्भीर रूपमा भिटामिन डीको अभाव हुनुको परिणाम भएको निष्कर्ष निकालेका छन्। पोषण र हड्डीको स्वास्थ्यमा विज्ञता भएका आयरल्यान्डस्थित यूनिभर्सिटी कलेज कोर्कमा कार्यरत प्राध्यापक केभिन क्यासम्यानले बीबीसीसँगको अन्तर्वार्तामा भिटामिन डी नहुँदा अरू समस्या पनि हुने औँल्याउँछन्।
उनले भिटामिन डीको अभावले मानिसहरूलाई सङ्क्रमण बढ्ने जस्ता समस्या देखा पर्न सक्ने बताउँदै उनी भन्छन्, ‘विगत दुई दशकमा भिटामिन डीले हाम्रो अस्थिपञ्जर प्रणालीबाहेक अन्यत्र पनि महत्त्वपूर्ण काम गर्छ भन्ने नयाँ बुझाइ देखा पर्दै गएको छ।’
विभिन्न अनुसन्धानले आन्द्रा, मुटु, रक्तनली, मांसापेशी जस्ता अंगमा भएको कोषले भिटामिन डी लाई ग्रहण गर्ने निष्कर्ष निकालेका छन्। तसर्थ, वैज्ञानिकहरूले मध्यमस्तरको भिटामिन डीको अभावले मुटु र रक्तनलीसम्बन्धी रोग, मधुमेह, निश्चित प्रकारका क्यान्सर, सङ्क्रामक रोग र कतिपय सङ्क्रामक रोगको जोखिम बढ्ने बताएका छन्।
यदि अत्यधिक थकान, कमजोरी र हड्डी दुख्ने समस्या जारी छ भने, तपाईंले आफ्नो भिटामिन डी परीक्षण गराउनुपर्छ। यी समस्याहरूसँगै अरू केही समस्या देख्नुभयो भने अवश्य चिकित्सकको सल्लाह लिनुहोस्।
भिटामिन ‘डी’को कमीको प्रारम्भिक र गम्भीर लक्षण
- जोर्नी दुखाइसँग हड्डी र ढाड दुखाइको वृद्धि।
- उदास महसुस
- अचानक अत्यधिक कपाल झर्नु।
- मांसपेशीहरूमा दुखाइ र स्नायुहरूमा तनावको अनुभूति।
- घाउ निको हुन ढिलाइ।
- रोग प्रतिरोधात्मक क्षमतामा कमी र बारम्बार सङ्क्रमण।
- निन्द्रा लाग्ने, सुस्त र सुस्त महसुस गर्नु।
- सास फेर्न गाह्रो हुनु।
भिटामिन डी को कमी हुनुका धेरै कारणहरू छन्। कोरोना संक्रमणपछि पनि मानिसमा यो भिटामिनको तीव्र कमी हुन थाल्यो। घामबाट टाढा बस्ने बानी पनि यसको कारण हुन सक्छ। साथै खानामा भिटामिन डी युक्त चीजहरू नलिनु पनि ठूलो कारण हो। सुन्तलाको जुसमा भिटामिन डी पाइन्छ। लगभग २५० मिली सुन्तलाको रस पिउनाले १००आईयू भिटामिन डी प्रदान गर्दछ। भिटामिन डी को कमी पूर्ति गर्न यो उत्तम फल हो। यस बाहेक घाममा बस्नु जरुरी छ। -एजेन्सीको सहयोगमा



लोकपाटी न्यूज

