नेपाल बुद्धिजीवी संगठनद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

Krishna_-Kc_NIlkantha_Tiwari pic
लोकपाटी न्यूज

काठमाडौं, ८ असोज। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट वैचारिक संगठन नेपाल बुद्धिजीवी संगठनले आसन्न संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

शनिबार बिहान बसेको संगठनको भर्चुअल बैठकले परिचालन समिति गठन गरेको हो। परिचालन समितिको संयोजकमा कृष्ण केसी र सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन्।

परिचालन समितिमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय विभागका पदाधिकारी र सदस्यहरू, प्रदेश समितिका पदाधिकारी र सदस्यहरू रहने व्यवस्था गरिएको छ। संगठनको केन्द्रीय कार्यालय टीमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धि कामको परिचालन गर्नेसमेत निर्णय गरिएको छ।

बैठकले निर्वाचनअघि आम जनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपील प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा समेत निर्वाचन परिचालन समिति बनाएर संगठन परिचालन गर्ने, निर्वाचन घोषणापत्रको पक्षमा बौद्धिक बहस सञ्चालन गर्ने लगायतका निर्णयहरू गरेको छ।

बैठकमा बोल्दै माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी इञ्चार्ज दिनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीहरूले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए। ‘‘यो निर्वाचन सामान्य प्रकृतिको निर्वाचन होइन, अग्रगमन र प्रतिगमनबिचको संघर्ष अझै सकिएको छैन। तसर्थ, क्रान्तिकारी एवं परिवर्तनकारी बुद्धिजीवीहरूले अग्रगमनको पक्षमा जनमत निर्माण गर्न आवश्यक छ।’’

बैठकमा संगठनका संयोजक केसीले नेपाल बुद्धिजीवी संगठन मालेमावादी बुद्धिजीवीहरूको नेतृत्वदायी संगठन भएकाले विचारसहितको संगठन परिचालन आवश्यक भएकोमा जोड दिए। त्यस्तै संगठनका सहसंयोजक तिवारीले निर्वाचनलाई वर्गसंघर्षको भिन्न मोर्चाका रूपमा लिन बैठकका सहभागीहरूलाई आग्रह गरे।