काठमाडौं। नेकपा एमालेले चितवन क्षेत्र नम्बर १ बाट कसलाई आफ्नो उम्मेदवार बनाउँछ भन्ने विषय साँचोका साथ हेरिएको छ। अहिले यस क्षेत्रबाट एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्य हुन्। आसन्न निर्वाचनमा उनी फेरि उम्मेदवार बन्छन् कि बन्दैनन् दुबिधाको विषय छ। अध्यक्ष केपी शर्मा ओली उनीप्रति त्यति सकारात्मक नरहेको बताइन्छन्।
पार्टी विभाजनको अन्तिम अवस्थामा अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरेर एमालेमा रहने निर्णय लिएका १० भाइ मध्येका पाण्डे एक हुन्। एमालेमा लामो समय अध्यक्ष ओली इतर समूहका नेता माधवकुमार नेपालको साथमा रहेका उनी पार्टी विभाजनमा भने साथ दिएनन्। संसद् विघटन गरेपछि उनी तत्कालीन नेकपामा ओलीको विरुद्धमा उभिएका थिए। त्यतिबेला नेकपा केन्द्रीय समितिको बहुमत सदस्यले ओलीलाई कारबाही गरेको थियो।
नेकपा नामसम्बन्धि विवादमा सर्वोच्च अदालतले दलको विपक्षमा फैसला गरेर पुरानै अवस्थामा फर्काइदिएपछि एमालेमा ओली विरुद्ध लागेका नेताहरू अफ्ठेरोमा परेका थिए। नेता नेपालले नयाँ दल खोल्ने निर्णय लिएपछि नेता पाण्डेसहित दोस्रो तथा तेस्रो पुस्ताका १० नेताले एमालेमा रहने निर्णय लिए। तर, अध्यक्ष ओली भने आफूविरुद्ध लागेको भन्दै उनीहरूप्रति अझै दाहिना नभएको बताइन्छ। आसन्न निर्वाचनको लागि उम्मेदवार छनोटमा त्यसको असर रहने एमाले नेताहरू बताउँछन्।
चितवन- १ बाट नेता पाण्डे नै उम्मेदवार बन्छन् वा अरू कोही ? राजनीतिक वृत्तमा प्रश्न छ। चितवन- १ बाट २०७४ सालमा बाम गठबन्धनको साझा उम्मेदवार बनेका एमाले नेता पाण्डे १५ हजार ७२० मतान्तरले चुनाव जितेका थिए। ५१ हजार ८० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए। त्यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए।
पाण्डे यो पटक पनि उम्मेदवार बन्ने तयारीमा छन्। तर, यस पटक उनी सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेका छैनन्। उनले चितवन १ बाट प्रत्यक्षतर्फको उम्मेदवारको लागि आवेदन दिएका छन्। आवेदन दिनेमा उनी एक्लो नेता होइनन्। पार्टीका अर्का केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार भएर काम गरेका थिए। थपलिया ओली निकट मानिन्छन्।
यता काँग्रेसबाट भने बुर्लाकोटी र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले मध्ये उम्मेदवार हुनेछन्। गठबन्धन हुँदा पनि यो क्षेत्र नेपाली काँग्रेसको भागमा पर्ने सम्भावना धेरै छ। पार्टी विभाजन र नेताहरूको आन्तरिक व्यवस्थापन हुन नसकेको अवस्थामा एमालेले यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न सक्ला ? चासोको विषय बनेको छ। तर, गत वैशाखमा सम्पन्न स्थानीय चुनावको मत परिणाम अनुसार चितवन- १ मा एमाले बलियो देखिन्छ।
स्थानीय तहमा वडाध्यक्षले पाएको मत अनुसार एमालेको ३९ हजार ६०६, काँग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत देखिन्छ। यता, एमाले र राप्रपाबीच चुनावी तालमेलको चर्चा पनि छ। यदि यी दुई दलबीच चुनावी तालमेल भए यहाँ रोचक प्रतिस्पर्धा हुनेछ।



लोकपाटी न्यूज

