गठबन्धनका दुई चर्चित नेता शर्मा र कार्कीको निर्वाचन क्षेत्र झापा-१ : चुनाव जित्न सकस

Sharma_Karki
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएसँगै मुलुकमा यतिबेला चुनावी बहस र चर्चा चुलिएको छ। दलहरूका तर्फबाट चुनाव जित्न सक्ने उपयुक्त उम्मेदवारको खोजी भइरहेको छ। शीर्ष तहका नेताहरूले ल्याउन सक्ने मत परिणामबारे विभिन्न अड्कलबाजी पनि भइरहेका छन्।

अधिकांश शीर्ष नेताहरू चुनाव जित्नेमा आशावादी देखिन्छन् भने कतिपय नेताहरूको निर्वाचन क्षेत्र नै टुंगो छैन। कोही शीर्ष नेतालाई चुनाव जित्न सकस पर्ने देखिन्छन्। यता, सत्तारुढ पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ। गठबन्धनमा सिट बाँडफाँटको गृहकार्य निरन्तर जारी छ। तर, सिट बाँडफाँटको विषयमा अन्तिम सहमति भने जुट्न सकेको अवस्था छैन।

चुनाव जित्न सकसमा रहेका शीर्ष नेता भने गठबन्धन हुने भएपछि आशावादी देखिन्छन्। यसअघि पराजय भोगेका नेताहरू यतिबेला गठबन्धनको भरमा चुनाव जित्ने अपेक्षासहित चुनावी गृहकार्यमा जुटिसकेका छन्। दलहरूले पनि आफ्नोतर्फबाट उम्मेदवार सिफारिस गरिरहेका छन्। पराजय भोगिरहेका क्षेत्रका नेताहरू अब जित निकाल्न सकिनेमा उत्साहित छन्। सहयात्री दलसँग परामर्श बढाएका छन्। चुनावमा एकमतका साथ अघि बढ्न प्रयत्नशील छन्। यद्यपि हालसम्म सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो भने लागिसकेको छैन।

मंसिर ४ मा सम्पन्न हुने निर्वाचनलाई लिएर अहिले झापाले देशकै ध्यान खिचेको छ। झापा राष्ट्रिय राजनीतिका थुप्रै प्रभावशाली नेताको गृहजिल्ला हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका सचिव सुरेन्द्रकुमार कार्की (राम कार्की) र एमालेका नेता अग्नि खरेलको गृहजिल्ला हो, झापा। आसन्न निर्वाचनमा यहाँ शीर्ष नेताहरूबीच रोचक प्रतिस्पर्धा हुनेछ।

विशेषगरि झापा निर्वाचन क्षेत्र नम्बर १ ले सबैको ध्यान खिचेको छ। किनभने उक्त निर्वाचन क्षेत्रका दाबेदार हुन्- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका राम कार्की। उनीहरू अघिल्लो निर्वाचनमा एक-अर्काका प्रतिस्पर्धी हुन्। तर, यस पटक उनीहरू दुवै एकै मोर्चामा छन्। आगामी निर्वाचनमा पनि यी दुई नेता स्वाभाविक दाबेदार छन्।

कांग्रेस महामन्त्री शर्माले यहाँ लगातार दुई पटक पराजय भोगेका छन्। २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा २०७४ मा माओवादी केन्द्रका कार्कीसँग पराजित भएका थिए। ०७४ मा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी शर्माले ३३ हजार ३१० मत पाएका थिए।

त्यतिबेला सामाजिक सञ्जालभर एउटा तस्बिर भाइरल भएको थियो। तस्बिरमा कांग्रेस नेता शर्माले आफूलाई पराजित गरेका कार्कीलाई माला लगाइदिएका थिए। उक्त तस्बिरले शर्माको छवि अझ उठाइदियो। आगामी निर्वाचनमा भने उनी जितको खोजीमा छन्। तर, सिट बाँडफाँड हुँदा झापा क्षेत्र नं. १ कसले पाउने हो त्यो टुंगिन भने बाँकी छ। झापा १ काँग्रेसको भागमा पर्‍यो भने शर्मा उम्मेदवार बन्नेछन्। कांग्रेस झापा क्षेत्र नं. १ ले यहाँबाट सर्वसम्मत रुपमा शर्माको नाम सिफारिस गरिसकेको छ। माओवादीले पायो भने सम्भवतः कार्कीले उम्मेदवारी दिनेछन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा सबैभन्दा धेरै भोट एमालेको छ। दोस्रो कांग्रेस र माओवादीको चौथो भोट छ। माओवादीको भन्दा २ हजार बढी भोट राप्रपाको छ। एमालेको मत ३१ हजार २३२ छ। काँग्रेसको मत २४ हजार ५९ छ भने राप्रपा ५ हजार ९२२ र माओवादी ३ हजार ९०५ भोट छ। यो निर्वाचन क्षेत्रमा कसले निर्वाचन जित्छ भन्ने विषय अनुमान लगाउन भने गाह्रो छ। किनभने, एमाले र राप्रपाबीच पनि चुनावी तालमेल गर्न छलफल चलिरहेको छ। यदि एमाले र राप्रपाबीच चुनावी तालमेल भए यहाँ उसको मत ३७ हजार १५४ हुन्छ भने, सत्ता गठबन्धनको २७ हजार ९६४ मत हुन्छन्। जो एमाले र राप्रपाको भन्दा ९ हजारभन्दा बढीले कम हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्