आजको जीवन र समाजलाई व्याख्या नगरी समाजवाद आउँदैन : घनश्याम भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले समाजवाद लामो व्यवहारिक प्रक्रिया भएको बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा नेता भुसालले समाजवाद रातारात आउने विषय नभएको बताए। एउटा निरन्तर चलिरहेन प्रक्रियाका रुपमा उनले समाजवादको व्याख्या गरेका छन्। कुनै शीर्ष नेताले भाषण गर्दैमा समाजवाद आउने कुरा नभएको उनले बताए।

‘समाजवाद लामो व्यवहारिक प्रक्रिया हो। यो काल्पनिक कुरा होइन,’ भुसालले भने, ‘हामीले विकाश भनेको, प्रगति भनेको समाजवाद भनेको यस्तो सस्तो बनाइदिएका छौं की आजै मैले भनेपछि आउँछ। एउटा ठूलो नेताले भाषण गरिदिएपछि आउँछ। अथवा केही उखरमाउलो गर्छ र समाजवाद आउँछ, जस्तो भ्रममा फसिराख्या छौं। हाम्रो मार्क्सवादले, समाजवादले बढीभन्दा बढी आजको जीवन, आज बाचेको जीवनलाई छुने गरी हाम्रो समाजलाई व्याख्या गर्नुपर्छ। त्यसले समाजवाद ल्याउँछ।’

नेपालमा नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएपछि समाजवादतिर जान ढोका खुले पनि विभाजनले अवरुद्ध गरेको उनको भनाई छ। तत्कालीन नेकपा विभाजन नेपाली समाजको लागि एउटा प्रतिक्रान्ति भएको उनले दाबी गरे। भुसालले भने, ‘नेपालमा वाम एकताले समाजवादतिर जाने बाटो खोलेको थियो। तर विभाजनले त्यो सम्भावनालाई अवरुद्ध गरेको छ। यसले धेरै टाढासम्म असर गर्छ। पार्टी विभाजन एउटा प्रतिक्रान्ति हो। यसले समाजवादको यात्रालाई अवरुद्ध गरेको छ।’

उनले नेपाली समाजको पुँजीवादी चरित्र अन्त्य नभएसम्म समाजवाद नआउने दाबी पनि गरे। ‘नेपाल पुँजीवादी समाज हो। हाम्रो पुँजीको मुख्या चरित्र दलाल पुँजी छ। उत्पादन नगरीकन बढ्ने पुँजीको चरित्र दलाल पुँजी हो। त्यसको बाहुल्यता छ। पुँजी बढिरहन्छ रोजगारी बढ्दैन, उद्यम बढ्दैन। उद्योग बिनाको पुजि बढ्छ। रातारात भइरहेको छ। कोभिड आउँदा पनि बढिरहेको छ। मुलुक आर्थिक संकटमा होस्/नहोस् पुँजीपतिको पुजि बढिरहेको छ। अनुत्पादक लगानीबाट उनीहरू पुँजीपति भइरहेका छन्। मुलुकमा न उद्योग छ न रोजगारी,’ भुसालले अगाडि भनेका छन्, ‘यसलाई नफेरी समाजवाद आउँदैन। दलहरूले दलाल पुँजीवादसँगको आफ्नो सम्बन्धनलाई प्रष्ट नपारेसम्म अगाडि बढ्न सकिँदैन। समाजवादको आजको चुनौती त्यही हो। आगामी १०/१२ वर्षसम्म त्यो चुनौती रहने छ।’

उनले साजवादको आजको चरण दलाल पुँजीवादको अन्त्य भएको बताए। उनले समाजवाद ल्याउने बाटो भनेको लोकतान्त्रिक पद्धति भएको बताए। तर, अहिलेको बुर्जुवा संसदबाट भने त्यो सम्भव नभएको बताए। अहिलेको संसद चुनावदेखि चुनावसम्ममा मात्र सीमित रहेकोले त्यसबाट समाजवादको आशा गर्न नसकिने उनको भनाई छ। ‘बुर्जुवा संसदबाट पनि चुनौती छ। तर, मैले संसदको काम छैन भनेको चाही होइन। हामी संसद वा अर्को कुनै लोकतान्त्रिक पद्धति हुँदै जानुपर्छ। यसको खण्डन मार्क्स एंगेल्सका कुनै सिद्धान्तले पनि खण्डन गर्दैन। हामी लोकतान्त्रिक पद्धतिबाटै जाने हो,’ उनले भने, ‘मार्क्सवाद, मार्क्सवादी परम्परा लोकतान्त्रिक विरोधी, निरंकुशताको पक्षधर सर्वसत्तावादी हुँदै होइन। यो लोकतन्त्र पक्षधर नै हो।’

समाजवादको पहिलो चरण विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउने र स्वदेशमै रोजगारी दिने भएको भुसालले बताए। विदेशमा रहेका नेपाली कामदारको अन्तिम जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको दिन समाजवादी क्रान्तिको पहिलो चरण पुरा हुने उनले बताए। ‘पेट पाल्नका लागि काम नपाएर बिदेसिन बाध्य गएका, खान नपाएर लखेटिएका, इतिहासले लखेटेका, वर्तमानले लखेटेका, दलाल पुँजीवादले लखेटेका हाम्रा छोरा छोरीलाई स्वदेश फर्काउन पर्नेछ,’ उनले भने, ‘जुन दिन अरब, मलेसिया लगायतका देशमा रहेका नेपालीका कामदार छोरा, छोरी अन्तिम दिन, अन्तिम जहाज चढेर त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्छ, हाम्रो समाजवादी क्रान्तिको पहिलो चरण त्यस दिनमा पुरा हुन्छ।’

त्यसको लागि राम्रोसँग काम गर्न सकिए दश देखि बाह्र वर्षको समय लाग्ने उनको बुझाइ छ। समाजवादी क्रान्तिको आर्थिक सार यही भएको उनले दाबी गरे। नेपालीले भोग्न परेको वर्तमान अवस्थाको व्याख्या गरेर कार्यक्रम बनाएर लागू गर्न सके उक्त कुरा पुरा गर्न सम्भव रहेको बताए। साथै, उनले कृषिमा क्रान्तिलाई तीव्र गतिमा अगाडि बढाउन पर्ने बताए। कृषि क्रान्तिबिना समाजवाद ल्याउन सम्भव नरहेको पनि बताए।

‘कृषि गरिरहेको मान्छेले कृषिको श्रम उठाउन सक्दैन। लगानी उठाउन सक्दैन। बहुत मुस्किल छ। कठिन जिन्दगी बाचिरहेका छन्। यसरी कृषिमा थुपारेर समाजवादतिर जान सकिँदैन। पहिलो काम कृषिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ,’ भुसालले भने, ‘जसले कृषिमा दैनिक ८ घण्टा काम गर्छ भने त्यसले खान लाउन बस्न छोरा छोरी पढाउन, आवश्यक पर्दा औषधि उपचार गर्न सक्ने हैसियत बनाउनु पर्छ। यो बनाउन सकिन्छ। बनाउन राज्य नै लाग्न पर्छ। कृषकको संरक्षण नगरी कृषिको विकास भएको छैन। यो कुरामा प्रष्ट हुन पर्छ। कार्यक्रम बनाउन पर्छ। यसरी अघि बढ्दा मात्र कृषिको आधुनिकीकरण, व्यवसायीकरण हुन्छ।’

उनले रोजगारीका क्षेत्रहरूको राज्यले संरक्षणको ग्यारेन्टी लिन पर्ने बताए। उत्पादन मूलक उद्योगको सुरक्षा र संरक्षण नहुँदासम्म स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसकिने बताए। आत्मनिर्भर अर्थतन्त्रको लागि पनि उद्योग आवश्यक पर्ने भएकोले राज्यको संरक्षण नपाएर बरबाद नहुने ग्यारेन्टी राज्यले दिन पर्ने बताए। साथै पर्यटन र ऊर्जालाई व्यवस्थित गर्न पनि आवश्यक रहेको बताए। त्यस्तै अनिवार्य गुणस्तरीय शिक्षामा सबैको पहुँचलाई ग्यारेन्टी पनि गरिनुपर्ने बताए। अहिले नै निजी शिक्षाको उन्मुलन गर्न नसकिने भएकोले निजी स्तरको सबै सुविधाहरू सार्वजनिक स्कुलमा पुर्‍याउन राज्य संवेदनशील भएर लाग्नु पर्ने नेता भुसालको भनाई छ। त्यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा सुविधा सबै गाउँ गाउँमा पुर्‍याउनु पर्ने बताए। यति काम गर्न सके मात्र समाजवादका लागि सबै भन्दा ठूलो कुरा हुने उनले बताए।

‘हाम्रो प्रवृत्ति अस्थिरता हो। हामीले राष्ट्रिय संकल्प गर्नुपर्छ। हामीले शान्ति क्षेत्रको घोषणा गरेर जानुपर्छ,’ भुसालले भने, ‘शिक्षा, कृषि, उद्योग, पूर्वाधार खास गरी ऊर्जा र पर्यटनका पूर्वाधारहरू, शिक्षा र स्वास्थ्य र विदेश नीतिमा हामीले ठोस नीति बनाएर अघि बढ्नुपर्छ। त्यही नेपाली समाजवादको तात्कालिक मार्ग चित्र हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्