काठमाडौं। मुलुक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा उभिएको छ। दलहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन्। मंसीर ४ गते सम्पन्न हुने निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न दलहरूले मातहतका कमिटीलाई निर्देशन दिएका छन्। जिल्ला कमिटीबाट उम्मेदवार सिफारिस गर्नेक्रम पनि जारी छ।
यद्यपि आसन्न निर्वाचन कस्तो रहला ? यो प्रश्न राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। किनभने सत्तारुढ पाँच दलीय गठबन्धनमा चुनावी सहकार्य गर्ने सहमति भइसकेको छ। गठबन्धनभन्दा बाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि गठबन्धनमा सहभागि हुन चाहन्छ। यदि लोसपा पनि गठबन्धनमा सहभागि भएको अवस्थामा संसदमा उपस्थित दलमध्ये नेकपा एमाले एकातिर र अन्य दल अर्कोतिर रहने छन्। यो अवस्थामा साबिकका दलहरूको हैसियत के-कस्तो रहला ? चासोको विषय स्वाभाविक छ। तर, हाल गठबन्धनमा सिट बाँडफाँडको विषय भने टुंगोमा पुग्न सकेको छैन।
यद्यपि, दलहरूले आ-आफ्ना उम्मेदवार सिफारिस जारी राखेका छन्। जसको टुंगो केन्द्रीय स्तरबाट लगाइने छ। उम्मेदवार सिफारिस भएसँगै चुनावी सरगर्मी पनि बढेको छ। शीर्ष तहका नेताहरूको चुनावी पोजिसन कस्तो छ ? चुनाव जित्न कति कठिन, कति सहज त्यसको विश्लेषण भइरहेका छन्। विश्लेषणको आधार २०७४ को प्रतिनिधिसभा निर्वाचनमा र गत वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरूले प्राप्त गरेको मत परिणाम हुन्। उम्मेदवार सिफारिस हुनेमा शीर्ष तहका नेताहरू पनि रहेका छन्। जसमध्येका एक हुन् नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का।
खड्काको नाम सुर्खेत १ बाट प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार लागि सिफारिस गरिएको छ। उनको नाम बाँके-३ बाट पनि सिफारिस भएको छ। खड्काले २०७४ मा सम्पन्न निर्वाचनमा पराजय भोगेका थिए। सुर्खेत-१ बाट २०४८, २०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए। तर, २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधानसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए। तर, घलेले त्यो बेला नेकपा एमालेकी कमला शर्मासँग पराजित भएका थिए।
त्यतिबेला खड्का भने समानुपातिक सांसद बनेका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे। २०७४ मा तत्कालीन वाम गठबन्धन (नेकपा एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीसँग खड्का पराजित भए। ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्का यस पटक आफ्नो साख फर्काउने योजनामा छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसबाट खड्का निर्विकल्प उम्मेदवार पनि हुन्। यस क्षेत्रमा गठबन्धन भएपनि टिकट खड्काले नै पाउने देखिन्छ। गत स्थानीय तहको चुनावमा दलका वडाध्यक्षले प्राप्त गरेको मत परिणाम अनुसार यहाँ सुर्खेत-१ मा काँग्रेस पहिलो शक्ति देखिन्छ। यस निर्वाचन क्षेत्रमा काँग्रेसले ३६ हजार ९२८, नेकपा माओवादी केन्द्रले ५ हजार ७५, राप्रपाले ६६४, नेकपा एकीकृत समाजवादीले ६३४ मत प्राप्त गरेका थिए।
वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार ८४३ मत प्राप्त गरेको छ। यसरी हेर्दा गठबन्धनको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ। जुन एमालेको मतभन्दा ७ हजार ७९४ बढी छ। गठबन्धन भएको अवस्थामा सुर्खेत-१ मा गठबन्धनले जित निकाल्ने पक्का जस्तै देखिन्छ। यता, एमालेले खड्काविरुद्ध शाहीलाई नै दोहोर्याउँछ वा नयाँ उम्मेदवार खडा गर्छ ? निश्चित छैन। तर, एमालेबाट हाल कर्णाली प्रदेशसभा सदस्य खडक खत्री र ध्रुवबहादुर शाहीको नाम नै चर्चामा रहेको छ।



लोकपाटी न्यूज

