काठमाडौं। नेपालका ‘कम्युनिष्ट शक्ति’को लागि मंसीर ४ गते सम्पन्न हुने निर्वाचन केही फरक हुने देखिएको छ। २०७४ मा वाम एकताको उद्घोषसहित निर्वाचनमा होमिएका शक्तिहरू अहिले फरक-फरक कित्तामा छन्। आसन्न निर्वाचनमा उनीहरू एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यस्तो अवस्थामा कुन दलको हैसियत कस्तो होला यसै भन्न सकिने विषय त भएन। तर, राजनीतिक वृत्तमा भने दलहरूको नाफाघाटाको अनुमान खोजी भइरहेको छ।
आसन्न निर्वाचनमा २०७४ मा एक कित्तामा रहेको नेकपा एमाले र माओवादी केन्द्र अहिले एक-अर्काका प्रतिस्पर्धी हुन्। अहिले नेकपा एमाले पनि विभाजित भएको छ। जसले उसको शक्ति कमजोर बनेको छ। अर्कोतर्फ एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी सहकार्य गर्ने सहमति भइसकेको छ। साथै, चुनावपछि एकता गर्नेगरी उनीहरूले आन्तरिक तयारी अघि बढाएका छन्। नेपाली काँग्रेस पनि यही कित्तामा छ। संसद् विघटन विरुद्धको संघर्षदेखि उनीहरू एक ठाउँमा छन्।
संसदको उपस्थित रहेका एमाले बाहेकका अन्य शक्तिहरू एक ठाउँमा उभिने निश्चित भएपछि आसन्न निर्वाचन फरक हुने त भइहाल्यो। यद्यपि दलहरुबीच सिट बाडफाडको विषयमा समझदारी भने हुन सकेको छैन। दलहरूले कुन निर्वाचन क्षेत्रमा आफ्नो अवस्था कस्तो रहेको छ भन्ने विषयमा अध्ययन गरिरहेका छन्। गठबन्धन हुँदाको अवस्थामा कहाँ कहाँ जित निकाल्न सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेका छन्। त्यस आधारमा सिट बाडफाट हुने देखिन्छ। दलहरू चुनावमा बढिभन्दा बढी स्थानमा जित निकाल्न आवश्यक रणनीति बनाउन व्यस्त छन्।
भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र २०७४ को आम निर्वाचनका प्राप्त मत परिणामको आधारमा जीतहार र नाफाघाटाको मापन भइरहेको छ। त्यस्तै, कम्युनिष्ट दलहरूमा विकसित पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा उनीहरूको भूमिकालाई पनि आधार बनाएर विश्लेषण गर्न थालिएको छ। जसअनुसार दलका शीर्ष नेताहरूको निर्वाचन क्षेत्रमा पछिल्लो अवस्था कस्तो छ ? अहिलेको चासोको विषय हो।
निर्वाचन नजिकिएसँगै सबैले महत्त्वका साथ हेरेको क्षेत्रमध्येको एक हो रोल्पा। रोल्पा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको क्षेत्र हो। पुन माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। त्यस अर्थमा पनि रोल्पाको अहिलेको अवस्था कस्तो छ ? सर्वत्र चासोको विषय बनेको छ। पुन अहिले प्रतिनिधिसभा सदस्य हुन्। २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका पुनले २१ हजार ७४७ मतान्तरले जित निकालेका थिए।
पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १९ हजार ९ सय ६ मत ल्याएका थिए। गत स्थानीय तहको चुनावको मत परिणाम अनुसार पनि माओवादी यहाँ अन्य दलभन्दा धेरै मतले अगाडि देखिन्छ। स्थानीय तहको चुनावमा रोल्पामा माओवादीको ४० हजार ७९१, काँग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको १ हजार २१८ र नेकपा एसको ९५० मत छ। रोल्पामा माओवादी बाहेक सबै दलहरू नेपाली काँग्रेस, एमाले, राप्रपा र नेकपा एसको मत जोड्दा थोरै मतले यी दलहरू अगाडि देखिन्छन्। यी सबै दलको मत जोड्दा ४१ हजार ३३ मत छ। माओवादी एक्लैको भन्दा यो मत २४२ मत मात्र बढी हो।
स्थानीय तहमा प्राप्त मत हेर्ने हो भने यहाँ माओवादी केन्द्र बलियो देखिन्छ। यदि यहाँ सबै दल एक्ला-एक्लै चुनाव लड्ने अवस्था बने भनेपनि पुनको जित निश्चित छ। तर, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको अवस्थामा त जित सुनिश्चित नै हुन्छ। स्थानीय तहमा प्राप्त मत परिणाम अनुसार यहाँ गठबन्धनको ६६ हजार ४०५ मत हो। गठबन्धनबाट रोल्पामा पुन उम्मेदवार बन्ने निश्चित छ। आसन्न निर्वाचनमा उनको मतान्तर अझ बढ्ने निश्चित छ।



लोकपाटी न्यूज

