सकियो कलंक हटाउने चौरचन पर्व

chauriya_parva
लोकपाटी न्यूज

विराटनगर। वर्षभरिको संकटबाट बचाउने र कलंक हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार साँझ घर-घरमा मनाउँदै सम्पन्न भएको छ।

भाद्र शुक्ल चतुर्थी तिथिमा सूर्यास्तपश्चात् सवापहर (अढाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन्न भएको हो। चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलंक पनि हटाउने जनविश्वास रहिआएको छ। दिनभरि व्रत लिई साँझपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाइलगायत प्रसाद राखेर चन्द्रमाको पूजा गर्ने चलन छ।

मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरिन्छ। परिवारको सदस्य सङ्ख्या जति छ, त्यति नै पकवानयुक्त डाली र दहीको छाँछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिन्छ।

एक-एक डाली, दही, केराको घरी उठाएर मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी आशीर्वाद लिने पण्डित महेन्द्रनारायण ठाकुर बताउँछन्। दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइने विश्वास छ।

चन्द्रमाको दर्शन गरी चन्द्र मण्डलमा राखिएको प्रसादलाई उपस्थित पुरुषले चार भाग गरी पातमा भोजन गरेपश्चात् बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ। चौरचनको दिनभरि नै मिथिलाका महिला पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहन्छन्।

कुशेऔँशीदेखि नै दही, डाली-छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन्। मिथिलामा भदौको शुक्ल पक्षको चौथीमा मिथ्या कलंकबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ। चन्द्रमाको आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने विश्वासले मिथिलामा यस पर्वलाई विशेष रूपमा मनाउने चलन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्