बुधबारसम्म सिट बाँडफाँटको विषय टुंगो लाग्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताएका छन्। माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने बताए।

‘काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो,’ उनले भने, ‘उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ।’ नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताए।

उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उनले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गरे। ‘पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो,’ उनले भने, ‘विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ।’

राजधानीमा संगठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उनले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताए। ‘नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ,’ प्रचण्डले भने, ‘संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ। पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ।’

उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताए। पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उनले भने, ‘नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो गर्‍यो भन्ने ढंगबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ।’

प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको विषय बुधबारसम्म टुंगो लाग्ने बताए। उनले तीन चरणमा सिटको भागबन्डा हुने उल्लेख गरे। ‘आज मात्र प्रधानमन्त्री र कांग्रेसका नेताहरूसँग पनि मेरो कुरा भएको छ। हामी पर्सिसम्म संख्या टुंग्याउने प्रतिबद्धता छ। टुंग्याउने नजिक नजिक पुगेका छौँ,’ उनले भने।

प्रचण्डले १५ भदौसम्म सिट बाँडफाँट सक्ने, २० सम्म कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र २५ गतेसम्म पार्टीको उम्मेदवार टुंगो लगाइसक्ने दाबी गरे। उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० र प्रदेश सभामा १२० सिट दाबी गर्ने बताए। उनले भने, ‘हामीले प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिटभन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्