निर्वाचन २०७९ : नेता झलनाथ खनालको जित्ने आधार गठबन्धन

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले केही दिनअघि पार्टी पुनर्गठन दिवस मनायो। गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई नेता माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको हो। भदौ ९ गते एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको थियो। सोही आधारमा उसले बिहीबार ‘पार्टी पुनर्गठन दिवस’ मनाएको थियो।

संसद विघटनविरुद्ध संघर्षको पक्षमा उभिएको एकीकृत समाजवादी सरकारमा सहभागी भयो। यहीबीचमा देशमा स्थानीय निर्वाचन भयो। गठन भएको छोटो अवधिमा उसले स्थानीय निर्वाचनको सामना गर्नुपर्ने भयो। सत्ता गठबन्धनको चुनावी मोर्चामा रहेर निर्वाचनमा सहभागी हुने निर्णयमा एकीकृत समाजवादी पुग्यो। निर्वाचनमा एक महानगरपालिका प्रमुख, एक उपमहानगरपालिका प्रमुख, १० नगरपालिका प्रमुख, आठ गाउँपालिका अध्यक्ष, १ सय ९० वडाध्यक्षसहित एकीकृत समाजवादीले स्थानीय तहमा ९ सय ८६ स्थानमा जित निकालेको थियो।

एक वर्षको अवधिमा स्थानीय निर्वाचनको सामना गरेको एकीकृत समाजवादीलाई अबको चुनौतीको रुपमा आसन्न संघ र प्रदेशसभाको निर्वाचन हो। आसन्न निर्वाचनपछि एकीकृत समाजवादीको शक्ति कस्तो अवस्थामा रहला भन्ने विषय आमचासोको विषय बनेको छ। समाजवादीले उम्मेदवारी छनोटको मापदण्ड तय गरिसकेको छ। सत्ता गठबन्धनले चुनावमा पनि गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ। दलहरुबीच सिट बाँडफाँड लगायतका विषयमा भने समझदारी हुन सकेको छैन। यस्तो अवस्थामा एकीकृत समाजवादीको भागमा कति सिट पर्छ र कहाँ-कहाँ पर्छ भन्ने विषय टुंगो लागिसकेको छैन।

संसद्मा चौथो शक्तिका रूपमा रहेको एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा २३ सांसद छन्। त्यसमध्ये १३ प्रत्यक्षतर्फका सांसद हुन्। अहिले संसदमा प्रत्यक्षतर्फ जहाँबाट जुन दलले जितेको छ, उक्त निर्वाचन क्षेत्र सोही दलको भाग रहने मोडालिटीबारे पनि छलफल भइरहेको बुझिएको छ। एकीकृत समाजवादीबाट यसरी प्रत्यक्षतर्फका सांसदमध्येका एक सम्मानित नेता झलनाथ खनाल पनि हुन्। उनले अन्तिम पटक आसन्न चुनावमा आफू उम्मेदवार बन्ने चाहना व्यक्त गरी सकेका छन्।

२०७४ सालको निर्वाचनमा खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले त्यतिबेला ३६ हजार ८०५ मत ल्याएका थिए। जुन मत उनका निकट प्रतिद्वन्द्वी भन्दा १७ हजार १६७ मतले बढी हो। प्रतिद्वन्द्वी काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। खनाल अहिले नेकपा एमाले छोडेर एकीकृत समाजवादीका सम्मानित नेता भएका छन्। उनी यो पटक सरकारमा सहभागी पाँच दलीय गठबन्धनका तर्फबाट यो पटक पनि इलामको सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। खनाल यो निर्वाचन क्षेत्रबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन्।

गत स्थानीय तहको चुनावको वडाध्यक्षले पाएको मतलाई आधार मान्दा यो निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले देखिन्छ। एमालेको हाराहारीमा काँग्रेसको मत देखिन्छ। तर खनालको पार्टी नेकपा एकीकृत समाजवादीको मत भने एमाले र काँग्रेसको भन्दा धेरै तल देखिन्छ। यो निर्वाचन क्षेत्रमा एमालेको २६ हजार २३३, काँग्रेसको २५ हजार ७७२, नेकपा एसको ९ हजार ४८१, जसपाको १ हजार ८२९, माओवादीको १ हजार २३५ र राप्रपाको १ हजार १६९ मत छ।

स्थानीय तहमा गठबन्धनलाई प्राप्त मतअनुसार खनाल गठबन्धनका साझा उम्मेदवार भएको अवस्थामा यहाँ जित्ने सम्भावना बलियो छ। गठबन्धनको भोट ३८ हजार ३१७ भोट छ। यो क्षेत्रमा एमालेको भन्दा १२ हजार ८४ भोट बढी हो। तर यो यो निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको भोट अत्यन्तै कम रहेको भन्दै नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरूले दाबी गरिरहेका छन्। तर गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको क्षेत्रमा भोट भन्दा पनि राजनीति निर्णय गर्ने तयारी गरेका कारण यो क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना बलियो छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्