यस्ता छन् एमाले केन्द्रीय समिति बैठकका निर्णय

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले केन्द्रीय समितिको चौथो बैठक सम्पन्न भएको छ। बैठकले पार्टीलाई वैचारिक रूपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरूपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ। बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। जिल्लाले पठाएको निर्णय अन्तिम नहुने बताइएको छ।

यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनौट मापदण्ड तोकेको छ। यस्तै, बैठकले उम्मेदवारको छनौट मापदण्ड तोकेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चितता, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको छ।

जनाधार, आवश्यकता र लोकप्रियतालाई ध्यान दिने एमालेले जनाएको छ। प्रत्यक्ष निर्वाचनमा जित्ने सम्भावना बढी र संसदीय भूमिका बढी भएकालाई प्राथमिकता दिइने उपमहासचिव गुरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्