काठमाडौं। आगामी मंसिर ४ मा संघ र प्रदेशसभाको निर्वाचन तोकिएपछि नेताहरूले चुनावी तयारी थालेका छन्। निर्वाचन क्षेत्रमा यतिखेर चुनावी सरगर्मी बढेको छ। नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। चुनावमा जित निकाल्न कति सहज, कति कठिन भन्ने विषयमा मत परिणामको विश्लेषण पनि भइरहेको छ। विशेष गरी चुनाव लड्ने तयारीमा रहेका शीर्ष नेताको निर्वाचन क्षेत्रलाई विशेष महत्त्वका साथ हेर्न थालिएको छ।
दलहरू पनि आगामी निर्वाचनमा बलियो उम्मेदवार छनोट र निर्वाचन कसरी जित्न सकिन्छ भन्ने विषयमा आवश्यक रणनीति बनाउन थालेका छन्। निर्वाचन जित्न सक्ने उम्मेदवारहरूको खोजी भइरहेको छ। तर, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल नेताहरूको निर्वाचन क्षेत्रमा कस्तो प्रभाव रहेको छ भन्ने विषय पनि उत्तिकै चासोको विषय बनेको छ। जसमध्येका एक हुन्- नेकपा माओवादी केन्द्रका उपमहासचिवमा जनार्दन शर्मा।
चौथो पटक चुनाव लड्ने तयारीमा रहेका शर्मा आगामी निर्वाचनमा पनि माओवादी केन्द्रबाट जित सुनिश्चित गर्न सक्ने एक प्रभावशाली उम्मेदवार हुन्। उनी रुकुम पश्चिमबाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। उनी नेपाल सरकारका अर्थमन्त्री पनि हुन्। २०७४ सालको निर्वाचनमा शर्माले १८ हजार ७ सय ४३ मतको फराकिलो अन्तरले जित निकालेका थिए। वाम गठबन्धनका उम्मेदवार शर्माले ३४ हजार ४ सय २ मतका साथ विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजी जंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए।
रुकुम पश्चिम नेकपा माओवादी केन्द्रको बलियो प्रभाव रहेको क्षेत्र हो। यहाँ निरन्तर माओवादी केन्द्रले जित निकाल्दै आएको छ। पछिल्लो स्थानीय तहको मत परिणाम केलाउँदा पनि यहाँ माओवादी केन्द्र पहिलो र बलियो शक्ति हो। स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने पहिलो माओवादी, दोस्रो काँग्रेस र तेस्रोमा एमाले रहेको छ। यहाँ माओवादीको ३७ हजार १०२, काँग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एस १३० र राप्रपा १०८ मत छ। रुकुम पश्चिममा गठबन्धन नहुँदा पनि माओवादी केन्द्रले सहजै जित्न निकाल्न सक्छ।
स्थानीय तहको मतलाई आधार मान्ने हो भने एमाले-काँग्रेस लगायतका दलहरूको गठबन्धन भएपनि माओवादी केन्द्रको जित रोक्न सक्ने देखिँदैन। चुनावमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे यहाँ गठबन्धनको मत ६३ हजार ८५२ भोट हुन्छ। उक्त मत एमालेको भन्दा ५७ हजार ७२८ मतले बढी हो। पाँच दलका बीचमा गठबन्धन भएको अवस्थामा पनि यो निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार जनार्दन शर्मा हुने निश्चित छ। गठबन्धन रहेको अवस्थामा शर्माले भारी मतान्तरले जित निकाल्ने निश्चित छ।



लोकपाटी न्यूज

