ग्यास्ट्राइटिसबाट छुटकारा पाउने ५ उपाय

gastic_gastritis
लोकपाटी न्यूज

सामान्यतया हाम्रो पेटमा पुगेको खानेकुरा लगभग ४ घण्टापछि पेटबाट सानो आन्द्रामा जान्छ र पेट खाली हुन्छ। त्यसैले जति नै धेरै खाना खाए पनि लगभग ४ घण्टामा पेट खाली हुन्छ। पेट खाली भएपछि पनि पेटमा पाचन रस निस्कने प्रक्रिया निरन्तर भइरहन्छ। खानेकुराको अभावमा पाचन रसमा भएको एसिडले (अम्ल) हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर त्यो झिल्ली सुन्निन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ।

पेटको माथिल्लो भागमा असहज हुनु, थोरै खाँदा पनि पेट अघाएको जस्तो हुनु, पेट पोल्नु, पेट दुख्नु, छाती पोल्नु, छाती दुख्नु, धेरै डकार आउनु मुखमा अमिलो पानी आउनु, वाकवाकी लाग्नु ग्यास्ट्राइटिसका लक्षण हुन्। कसैलाई धेरै भोक लाग्ने र कसैलाई खाना खान मन नलाग्ने हुनाले यो रोगले पोषणमा पनि प्रभाव पार्छ।

जीवनशैली तथा खानपान नै ग्यास्ट्राइटिसको प्रमुख कारण हो। धूम्रपान र मद्यपानका कारण पनि यो रोग लाग्छ। यसैगरी विषाक्त खानेकुरा, बासी, चिल्लो, पिरो एवं मसालेदार खानेकुरा खाँदा पनि यो रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ। चिया-कफीको अत्यधिक सेवनले ग्यास्ट्राइटिस भएको पाइन्छ।

अर्को महत्त्वपूर्ण कारण भनेको अत्यधिक र परामर्शविनाको औषधि सेवन हो। चिकित्सकको सल्लाह लिएर वा नलिई विभिन्न रोगका लागि लिने औषधिहरू जस्तै दुखाइ कम गर्ने औषधि, एन्टिबायोटिक्स, स्टेरोइड आदिको सेवनले पनि यो रोग निम्त्याउँछ। यसैगरी मानसिक तनाव हुने अथवा निद्रामा समस्या हुने मानिसमा पनि यो समस्या देखिन्छ।

सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ समयमा खाना नखानु हो। दिनभरि खाना नखाई व्रत बस्ने मानिसमा पनि यो समस्या देखिन्छ । त्यसैगरी हाम्रो पेटमा हुने संक्रमण (हेलिकोब्याक्टर पाइलोरी) ले पनि ग्यास्ट्राइटिस हुन्छ। नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसमा यो संक्रमण छ।

कसरी जोगिने ?

  • ग्यास्ट्राइटिसबाट जोगिन धूम्रपान तथा मद्यपान गर्नुहुँदैन। चिल्लो, पिरो, मसालेदार खानेकुरा तथा चिया-कफीको सेवन कम गर्नुपर्छ। ३-४ घण्टाको अन्तरमा खाना खाइरहनुपर्छ।
  • सफा तथा पौष्टिक खाना खानुपर्छ। खाना खाएको ४ घण्टामा पेट खाली हुने भएकाले बिहानको ब्रेकफास्ट बढी खानुपर्छ। ब्रेकफास्टका साथमा फलफूल पनि खान सकिन्छ।
  • पानी प्रशस्त मात्रामा पिएर ग्यास्ट्राइटिसबाट जोगिन सकिन्छ।
  • मानसिक तनावबाट मुक्त रहनुपर्छ।
  • ६ देखि ८ घण्टा सुत्नुपर्छ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्