कस्तो छ एमाले नेता भीम रावलको क्षेत्रमा चुनावी अंकगणित ?

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आफ्ना गतिविधि निर्वाचन केन्द्रित गरेका छन्। सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। यससँगै प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ।

दलहरूले पार्टीको तर्फबाट उठाउने उम्मेदवार छनोटको मापदण्ड तयार गरिरहेका छन्। यता चुनावमा टिकट पाउन नेताहरूले लबिङ अघि बढका छन्। साथै आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक भेटवार्तालाई सक्रियतापूर्वक अघि बढाएका छन्। अहिलेसम्मको राजनीतिक परिघटना अनुसार संघ र प्रदेशसभाको निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये एमाले एक्लै एक ठाउँमा र अन्य दलहरुबीच चुनावी सहकार्य करिब निश्चित जस्तो देखिएको छ।

ठूला दलहरूको चुनावी सहकार्यपछि अछाम १ (निर्वाचन क्षेत्र) मा कस्तो परिणाम आउला! चासोको विषय बनेको छ। अछाम १ एमालेका प्रभावशाली नेता तथा सांसद भीम रावल निर्वाचित क्षेत्र हो। रावल र पछिल्लो विकसित राजनीतिक घटनाक्रमको कारण यो क्षेत्र चासोको केन्द्रमा छ।

रावल अछाम १ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। २०७४ को निर्वाचनमा रावलले २४ हजार ८९३ मत ल्याएर विजयी भएका थिए। उनी त्यतिबेला नेकपा एमाले-माओवादी केन्द्रका साझा उम्मेदवार थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले-माओवादीले पार्टी एकताको उद्घोषसहित चुनावी गठबन्धन गरेका थिए। रावलका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले १७ हजार ६८९ मत प्राप्त गरेका थिए। एमाले-माओवादीबीच गठबन्धन हुँदा पनि रावलको मत प्रतिद्वन्द्वी स्वाँरको भन्दा ७ हजार २ सयले मात्र बढी हो।

तर, यो पटक पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। २०७४ र अहिलेको अवस्था यहाँ फरक छ। एमाले विभाजित भएको अवस्था छ। एमाले विभाजनको असर सबैभन्दा बढी अछाममा देखिन्छ। अछामका एक जिल्ला नेताका अनुसार त्यहाँ रावलको राजनीति जोगाइदिएका शेरबहादुर कुँवर अहिले रावलसँग छैनन्। कुँवर अहिले रावलसँगै प्रतिनिधिसभा सदस्य भिड्ने तयारीमा छन्।

रावल संसद् विघटनदेखि नै ओलीविरुद्धमा लागे अनि उनका कार्यकर्ता जति सबै नेता नेपालतिर लागे। रावल अहिले एक्लै जस्तो देखिन्छन्। स्थानीय तह निर्वाचनको मत परिणामसमेत गठबन्धनको पक्षमा बढी देखिएको छ। अछाम क्षेत्र नम्बर १ मा काँग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादी केन्द्रको ६ हजार ७९० र नेकपा एसको २ हजार ७५२ मत छ। गठबन्धनमा रहेका दलहरूको मत एमालेभन्दा झण्डै १० हजार बढी देखिन्छ।

साथै अछाम १ बाट प्रतिनिधिसभामा एमालेका अर्का नेता कृष्णप्रसाद जैसीले दाबी गरिरहेका छन्। उनी जिल्लामा माधव नेपालहरूले एमाले विभाजन नगर्दा नै ओली निकट मानिन्थे। अछामको पूर्वजिविस सभापति रहेका जैसी २०७० देखि नै प्रतिनिधिसभा सदस्यको दाबेदार थिए। त्यसकारण पनि रावलले यो पटक टिकट हात पारेपछि पनि जित हात पार्न धौ-धौ पर्ने देखिन्छ।

काँग्रेसका भागमा यो क्षेत्र परे गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर र मेघराज खड्कामध्ये एक जना उम्मेदवार बन्ने देखिन्छ। एमाले विभाजन भएपछि अछाममा नेपाली काँग्रेस बलियो देखिएको छ। यदि गठबन्धन भएको अवस्थामा यो क्षेत्रमा काँग्रेसको दाबी रहनेछ। गठबन्धनका तर्फबाट काँग्रेसले सिट हात पार्दा जित्न निकाल्ने निश्चित जस्तै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्