चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको दाबी गरेका छन् ।
आज बुधवार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताए । ‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो’, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ । त्यो सपना चकनाचुर भयो ।’
उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भने पनि विकासका काममा अवरोध सिर्जना गरिरहेको दाबीसमेत गर्नुभयो । सोचेजस्तो रूपमा माडीको विकास नभए पनि विकासले गति लिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको उनले बताए ।
दुई जना मन्त्रीसहित माडी पुग्नुभएका प्रचण्डले एक पटक आफूलाई साथ दिन माडीवासीलाई अनुरोध गर्नुभयो । ‘माडीवासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई आउँदा दिनमा अझ तीव्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरी गर्ने मेरो सपना मरेको छैन’, उनले भने। ‘म तपाईँहरूसँगै बसेर विकास मोडेल खडा होस् भन्ने चाहन्छु ।’ उहाँले विकासका काममा एकताबद्ध भएर अगाडि बढ्ने बताए ।
चुनाव घोषणापछि पहिलो पटक माडी पुग्नुभएका प्रचण्डले झन्डै ३० करोड रुपैयाँमा बन्न लागेका सडक तथा तटबन्धको शिलान्यास गरेका छन् । उनले रणनीतिक सडक अन्तर्गतको बरुवा बजारदेखि गँगटेसम्मको सडकका शिलान्यास गरेका हुन् । १२ किलोमिटर यो सडक बरुवा बजार हुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गँगटेसम्म पुग्नेछ । यो सडक निर्माण (कालोपत्रसहित) का लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । अबको एक वर्षभित्र काम सक्ने गरी शिवशक्ति शिभम्ले ठेक्का पाएको छ । यो सडकको चौडाइ साढे पाँच मिटर हुनेछ ।



लोकपाटी न्यूज

