काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दाबी गरेका छन्। पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा नेपालले आफूहरूले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए।
नेपालले भने, ‘को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं। दुई जना पलायन भए। ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं, एक जना एमालेमा छन्। केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ती लाएर हुन्छ ?’
तथापि अहिले राजनीतिमा ‘म’वादी संस्कृति बढेको र ‘हामी’वादी संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता नहुने उनको भनाई छ। नेपालले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन। तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस्।’
नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरे। पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धता बिर्सनु नहुनेको उनको भनाइ छ। उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए। राणा शासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनीय छ।



लोकपाटी न्यूज

