नागरिकता विधेयक पारित

samsad
लोकपाटी न्यूज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो ।

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । त्यो प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते संसदमै फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी थिइन् ।

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ । त्यहाँबाट पनि पारित भइसकेपछि फेरि प्रतिनिधि सभामै आउनेछ । त्यसपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकोमा पठाउने छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्