‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : मन्त्री श्रेष्ठ

लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभामा उनले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका हुन्। ‘टानले उठाएको टिम्सको समस्यासम्बन्धी विषयलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तत्काल व्यवसायीसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ, अन्य विषयमा पनि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताए। ‘अहिले आरोहणमा नरहेका पाँच हजार ८०० मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तीनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए। उनले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढेको जानकारी दिए। टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना महामारीबाट थलिएको पर्यटन पुनःउत्थानका लागि नीतिगत सुधार एवं योजनावद्ध कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले पछिल्लो समय टिम्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसलाई समाधान गर्न सरकारले पहल लिन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्