काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको आज बिहीवारको बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २०७४ सालकै नतिजाका आधारमा सिट भागबन्डा गर्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले भने पालिका चुनावको लोकप्रिय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।
आज बैठकमा सिट बाँडफाँटको मोडालिटीमाथि छलफल भएको र सैद्धान्तिक रूपमा सहमति पनि भएको माओवादी नेता देव गुरुङले बताए। गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सिट जितेका छन् ती कायम राखेर एमालेले जितेका सिट बाँडफाँट गर्नुपर्ने अडान राखेको बताए । तर कांग्रेसले भने पालिका चुनावलाई मुख्य आधार बनाउन खोजेको छ ।
आउँदो मङ्सिर ४ गतेको चुनावका लागि सिट बाँडफाँटको टुङ्गो लगाउने गरी आउँदो सोमवार फेरि बैठक बस्ने गुरुङले बताए। चुनावमा तालमेलका लागि सिट बाँँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ ।



लोकपाटी न्यूज

