काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि युरोपियन युनियन (इयू)की राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन्। भेटमा राजदूत डेप्रेजले विगतदेखि नै नेपाल र इयूबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गर्दै आफ्नो कार्यकालमा नेपाल र इयूबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने बताइन्।
उनले नेपालको विकास प्रयासमा आर्थिक तथा अन्य सहयोग र सहकार्य गर्न इयू सधैँ तयार रहेको पनि बताइन्। राजदूत डेप्रेजले आगामी असोज ६ र ७ गते युरोपियन युनियनका सांसदको नेतृत्वमा नेपाल भ्रमणमा आउन लागेको ६ सदस्यीय प्रतिनिधिमण्डलबारे जानकारी दिँदै मन्त्री बडूसँग प्रतिनिधिमण्डले भेटवार्ता गर्न चाहेकोले भेटघाटका लागि समय उपलब्ध गराइदिन आग्रह गरिन्।
त्यस अवसरमा मन्त्री बडूले इयूले नेपालको विकास प्रयासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूतबाट पहल हुने विश्वास व्यक्त गरे। उनले नेपालले इयूको सहयोगमा कार्यान्वयन गरिरहेको व्यापार र लगानी कार्यक्रम (TIP) को नतिजा सन्तोषजनक रहेको र मन्त्रालयले बनाउन लागेको नेपाल व्यापार एकीकृत रणनीति (NTIS) कार्यान्वयनका लागि पनि इयूबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेको धारणा राखे।
यसैगरी मन्त्रि बडूले संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकोले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गरे। त्यसैगरी उनले युरोपियन युनियनका सांसदहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे। भेटमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।



लोकपाटी न्यूज

