परिणाममुखी काम गर्न गैरसरकारी संस्थाहरूलाई जिसस कास्कीका प्रमुख पौडेलको निर्देशन

लोकपाटी न्यूज

पोखरा। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। प्रमुख पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेकोले जनताका आवश्यकतालाई मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गरेका हुन्।

जिल्ला समन्वय समितिले कास्कीले गैरसरकारी संस्थाहरूलाई लक्षित गरेर आयोजना गरेको दुई दिवसीय समीक्षा बैठकमा उनले हरेक क्षेत्र पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने बताए। उनले जनहितलाई केन्द्र बिन्दुमा राखेर गरिने काम नै मूल्यांकनको सही आधार हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थाहरूलाई गुनासोरहित काम गर्न आग्रह गरे। बरालले विद्यमान नीति नियमको पूर्ण पालना सहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनु पर्ने बताए। गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि बहादुर थापाले समृद्ध कास्की निर्माणको लागि गैरसरकारी संस्थाहरूको मजबुत भूमिका हुने बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य बिना सिलवाल, प्रदेश अध्यक्ष पदम पहारी लगायतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा ९८ वटा रास्टिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागिताको सूचीपत्र प्राप्त भएकोमा २७ वटा संस्थाले समीक्षा प्रतिवेदन प्रस्तुति गरेको जिसस कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्