काठमाडौं। नेपाली काँग्रेसका नेताहरूले व्यवहारिक‚ वैज्ञानिक र स्वाभाविक प्रकृतिको चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकमा गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर चुनावी तालमेल गर्नुपर्ने सुझाव आएको छ।
‘गठबन्धन गरौं तर त्यसले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपारोस्। त्यसमा बढी जोड दिएर जाऔं। अस्वाभाविक देखिने गठबन्धन नगरौं। सबैलाई न्याय हुनेगरी गठबन्धन गरौं‚’ नेता विमलेन्द्र निधिले भने। गठबन्धनमा रहेका अन्य दलहरूले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो।
केही नेताहरूले गठबन्धन गर्दा काँग्रेसले १०६ सिट जित्ने अवस्था रहेपनि सुरुमै ६०-४० को कुरा गरेर काँग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। ती नेताहरूले सभापति देउवालाई गठबन्धनका नाममा अन्य दलहरूलाई ६०-४० प्रतिशतको पोजिसनमा गठबन्धन गर्ने बचन दिइसकेको हो भनी प्रश्न समेत गरेका थिए। तर, बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने यसबारे केही नबोलेको बुझिएको छ।



लोकपाटी न्यूज

