भक्तपुरमा बढे अपराधका घटना

लोकपाटी न्यूज

भक्तपुर। भक्तपुरमा गत वर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका विभिन्न अपराधका घटनाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घटना विगतका वर्षमा भन्दा बढेको बताए।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आर्थिक वर्ष २०७७/७८ मा ५६५ वटा थियो, तर आर्थिक वर्ष २०७८/७९ मा आपराधिक घटना बढेर असार मसान्तसम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन्।’

भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ। यहाँ भएका अपराधमध्ये १४ दशमलव ६६ प्रतिशत घटना महिला तथा बालबालिकासम्बन्धी रहेको उनले जानकारी दिए।

एक वर्षमा भक्तपुरमा बैंकिङ कसुरमा २४७, चोरीमा ९७, अभद्र व्यवहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान ५२, लागुऔषधमा ४२, जबरर्जस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, बहुविवाहमा १२, ठगीमा ११, जबरर्जस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुर्व्यवहारमा चार, मुद्रासम्बन्धी कसुरमा चार, चोरी उद्योगमा तीन मुद्दा दर्ता भएका छन्।

त्यस्तै सवारी अङ्गभङ्गमा तीन, गम्भीर उत्तेजनामा कुटपिट गरेकोमा तीन, ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा दुई, आपराधिक उपद्रोमा दुई, सङ्क्रमण रोग फैलाउनेमा दुई, विस्फोटक पदार्थमा एक, बैंकिङ तथा वित्तीय कसुरमा एक, अपरहणमा एक, नागरिकतासम्बन्धी कसुरमा एक, गर्भ संरक्षकसम्बन्धी कसुरमा एक, बालबालिकासम्बन्धी कसुरमा एक र जातीय भेद्भाव तथा छुवाछुतमा एक गरी कूल ८३२ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए।

यी घटनामा एक हजार ६ जना अभियुक्त रहेकोमध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेका छन्। परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले अपराधमा कुल घटना र अभियुक्तमध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसुरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिए। प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घटनाको कारण लागुऔषध नै रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्