अर्थमा जनार्दन शर्मा नै फर्किने, साँझ शपथ

Janardan_Sharma
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।

साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। अर्थमा जनार्दन शर्मा फर्किनुहुन्छ,’ उनले भने, ‘साँझ शपथ हुनेछ।’ बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको विषयबारे विवादमा तानिएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।

बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो। उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्