काठमाडौं। नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका छन्। माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको दोस्रो केन्द्रीय समिति बैठकमा शुक्रवार प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका हुन्।
उनले समाजवादी केन्द्र निर्माणका लागि छलफल नै नभएकोसमेत जिकिर गरे। ‘तत्काल समाजवादी केन्द्र बन्दै छैन,’ उनले भने, ‘हाम्रो छलफलमा त्यो कुरा भएको छैन।’ उनले आगामी प्रादेशिक र संघीय निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्ने कुरा भने भएको स्वीकार गरे।
‘चुनावी मोर्चा वा चुनावी तालमेल हुन सक्छ,’ प्रचण्डले भने, ‘एउटै चुनाव चिन्हमा लड्नेसम्म कुरा भएको छ।’ त्यस्तै, शर्माले ल्याएको बजेटको सबैतिर स्वागत भइरहँदा अनावश्यक विवाद खडा गरिएको उनको टिप्पणी छ। छानबिन समितिले आज बुझाएको प्रतिवेदनले शर्मालाई निर्दोष प्रमाणित गरेको प्रचण्डले बताए ।
जनार्दन शर्माले अर्थमन्त्रीका रुपमा कुनै गलत नगरेको बताए। ‘हामी छानबिन गर्न तयार थियौँ, खाएको विषको लाग्छ त,’ उनले भने, ‘संसदीय समितिले आज प्रतिवेदन बुझायो। अर्थमन्त्रीले कुनै गलत गरेको छैन भनिसक्यो।’
चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेद आज सभामुखलाई बुझाएको छ। समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। जेठ २२ गते गठन भएको समितिले प्रतिनिधिसभामा शुक्रवार पेश गरेको प्रतिवेदनमा बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नता नरहेको उल्लेख छ।



लोकपाटी न्यूज

