सिन्धुली। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकारबाट देश अगाडि बढ्न नसक्ने बताएका छन्। सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पौडेलले देशको समृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताए।
तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद् विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको उनको दाबी छ। उनले तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको जिकिर गरे।
उनले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप पनि लगाए। अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इसारा र निर्देशनमा आएको उनको आरोप छ। पौडेलले सरकारले संसदबाट पारित नागरिकता विधेयक विदेशीको इसारामा ल्याएको आरोप लगाए।
विदेशीको इसारामा चलेको सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको उनको भनाइ छ। तत्काल संसद् भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको बाटोमा जाने दोहोर्याउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए एमालेले बहुमत ल्याउने ठोकुवा गरे।



लोकपाटी न्यूज

