काठमाडौं। संसदमा संघीयता विरोधी अभिव्यक्तिलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त संघीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताए।
‘संघीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको संघीयतालाई कसैले कमजोर बनाउन सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हो,’ उनले भने, ‘संसद्मै केही पार्टीका नेताले संघीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, संघीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ।’ उनले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरे।
मुलुक संघीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले संघीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। प्रतिपक्षी दलका केही नेताले संसद्मै संघीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैँले संघीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने बताए।
उनले भने, ‘एमाले विगतदेखि नै संघीयता, धर्म निरपेक्षता विरोधी अभिव्यक्ति हाउसमा दिइरहेको छ। गणतन्त्रमा यस्ता कुरा उठ्दा सभामुखले रुलिङ गरेर ती आवाज कमजोर पार्नुपर्छ।’ त्यस्तै, एमालेले गलत राष्ट्रवादी नारा लगाइरहेको पनि साहको भनाइ थियो। राष्ट्रवादी भाषण गर्ने तर व्यवहारमा उल्टो काम गरिरहेको भन्दै साहले एमालेको आलोचना गरेका थिए।



लोकपाटी न्यूज

