काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एसईईको हिजो प्रकाशित नतिजा सुखद नभएको टिप्पणी गरेका छन्। राजधानीमा आयोजित एक साक्षात्कारमा उनले २०७५ र २०७८ नतिजा विश्लेषण गर्दा अहिलेको परीक्षाफल राम्रो नभएको दाबी गरे।
उनले भने, ‘ए प्लस, ए, बि प्लस ल्याएर पास हुने विद्यार्थी जो छन्, त्यो प्रतिशत घटेको छ। हाम्रो परीक्षाफल राम्रो भएन। कोभिडले गर्दा राम्रो भएन भन्ने कुरा पनि आएको छ। १० कक्षा र १२ कक्षाको रिजल्टको तुलनात्मक अध्ययन गरौं। हाम्रो शिक्षा फिलियर भएको उदाहरण छ।’
सिलवालले अनलाइन कोर्स प्रभावकारी हुन नसकेको हो कि भन्ने पनि प्रश्न उठाए। उनले भने, ‘अनलाइन कोर्स प्रभावकारी भएनन् की भन्ने पनि कुरा उठेको छ। फेस-टु-फेस कक्षा जस्तो प्रभावकारी भएनन् की ? कोभिडको बेलामा अनलाइन कोर्स सञ्चालन भएको हो। हिजो ८, ९ मा अनलाइन क्लासमा ‘युज्ड टु’ भएकाहरू अहिले एसईई विद्यार्थी हुन्। हामीले त हाम्रो सिकाइको प्रभावकारिता पनि खोज्नुपर्छ। हाम्रो सिकाइको स्तर राम्रो भएन की ? अब राज्यले खोज्नुपर्छ। शिक्षकले पढाएनन् कि ? व्यवस्थापन चुस्त दुरुस्त भएन कि ? यो कुराको निर्ममतापूर्वक समीक्षा हुनुपर्छ। यो पटक यस्तै भयो, अर्को पटक सुधार हुन्छ भनेर सरकारी निकायका अधिकारीले भनेको पनि सुनियो, यो दुःखद कुरा हो। शिक्षा सचिवलगायतले समीक्षा गरेको खोइ ?’
उनले आफूहरूले परिणाममुखी र गुणस्तरीय शिक्षा चाहेको सुनाए। उनले भने, ‘हाम्रो एजुकेसन सिस्टम फेलियर भएको छ। ७ वटै प्रदेशको रिजल्ट देखिएको छ। ७ वटै प्रदेशमा गुणस्तर राम्रो छैन। कर्णाली र सुदूरपश्चिमको कुरा गर्दा त्यहाँ नतिजाको स्तर धेरै नै खस्किएको छ । स्थानीय निकायको ध्यान पुगेन कि ? यसबारेमा पनि हामीले हेर्नुपर्छ। छात्र र छात्राको स्थिति हेर्दा, माथिल्लो ग्रेडमा फिमेल कमजोर देखिएको छ। अझै पनि छोरालाई बोर्डिङ पढाउने र छोरीलाई साधारण स्कुल पढाउने देखिएको छ।’
सिलवालले सामुदायिक र निजी विद्यालयको नतिजाको योगदान पनि हेर्न सुझाव दिएका छन्। उनले सरकारी स्कुलको तुलनामा निजीले वैकल्पिक उपाय अपनाएर पठनपाठन गरेको दाबी गरे। उनले भने, ‘हाम्रो सरकारी विद्यालयमा शिक्षक धेरै भए, जागिर कम गरेका रहेछौं भन्ने देखियो।’ उनले शिक्षकको क्वालिटी पनि राम्रो बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘अयोग्य शिक्षकले पढाएको विद्यार्थी कसरी योग्य हुन्छ ?’
उनले सिकाई उपलब्धि कसरी बलियो बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए। उनले भने, ‘विदेशका कतिपय देशमा शिक्षकको तलब निजामती कर्मचारीको भन्दा बढी छ, भुटानले डबल दिएर राखेको छ। नेपालमा किन गर्न सकिँदैन ?’



लोकपाटी न्यूज

