काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधवार बसेको बैठकमा नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने बताएका हुन्।
नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
‘सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरूमा कुनै गठबन्धनमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरे पनि हुन्छ। नेपालीहरूको यो अडान हो। नेपालका राजनीतिक पार्टीहरूको यही अडान हुनुपर्दछ,’ नेपालले भने, ‘त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाईकन अगाडि बढ्नुपर्छ।’
अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए। उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्ने गरी अनुचित सर्त स्वीकार गर्नु नहुने बताए।
‘नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित सर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ। अनुचित सर्तहरू स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन,’ नेपालले भने, ‘त्यसो हुनाले नेपालको हितमाथि आघात पुग्ने किसिमका अनुचित सर्तहरू राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन।’



लोकपाटी न्यूज

