एमाले कर्णालीमा नेताहरुको जिम्मेवारी बाँडफाँट, कुन विभागमा को ?

UML_Logo
लोकपाटी न्यूज

सुर्खेत। नेकपा एमाले कर्णालीले प्रदेश कमिटी सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुंगो लगाएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश कमिटी सदस्यको भूगोल र विभागको जिम्मेवारी दिएको जानकारी दिए। उनका अनुसार कर्णालीका निर्वाचन क्षेत्र, जनसंगठन र विभागको जिम्मेवारी तोकिएको छ।

बैठकले निर्वाचन विभागको प्रमुखमा कर्णबहादुर शाही, पार्टी स्कुल विभाग प्रमुखमा विनोदकुमार शाह र उपप्रमुखमा ताराकेशर गौतम, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सुर्यमणी गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विकास विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा हरिहरनाथ योगीलाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै, जनसंगठन समन्वय संयन्त्रको संयोजकमा टेक राज पछाईलाई जिम्मेवारी दिइएको छ। बैठकले ३५ सदस्यीय सचिवालय गठन गरेको छ। प्रदेश पदाधिकारीसहित २६ सदस्यीय सचिवालय गठन गरेको अध्यक्ष शाहले जानकारी दिए। बैठकले पार्टी सदस्यता अभिलेख तथा नविरकणका लागि जिल्ला कमिटीबाट प्रक्रिया पूरा भइ अनुमोदनका लागि आएका पार्टी सदस्यलाई बैठकले प्रदेश पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ।

स्थानीय तहको निर्वाचनमा विभिन्न कारणले अपेक्षित परिणाम नआएको भन्दै आसन्न निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको अध्यक्ष शाहले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण एमालेविरुद्ध पाँच दलीय गठबन्धन, पार्टी विभाजन, निर्वाचनमा आकाँक्षीहरुको व्यवस्थापन गर्न नसक्नु र पार्टी भित्रैबाट असहयोग हुनु रहेको बैठकले समीक्षा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्