वीरगन्ज। नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ नगरी आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा गए काँग्रेसको लागि निकै नै दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन्। वीरगन्जमा आयोजित पार्टीको एक कार्यक्रममा उनले आगामी चुनाव अघि पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नमा जोड दिनुपर्ने बताएका छन्।
कोइरालाले आगामी चुनाव गर वा मरको अवस्थामा हुने पनि बताए। उनले विपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्नुहुँदैन भनेको तर अहिले काँग्रेसले बाध्यात्मक अवस्थाको कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको बताए।
उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धीकरण विभागसहित तीन वटा निकाय आफू मातहतमा राख्दा विरोध भएको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि ओली पथमा हिँडेको आरोप लगाए। ‘देउवा प्रधानमन्त्री भएपछि उनले पनि तीन वटा संवैधानिक निकायलाई फिर्ता नगरेर ओली पथमा लागेर आफ्नो नियन्त्रणमा राखेका छन्। आगामी चुनावमा यस विषयमा विरोध टीकाटिप्पणी हुनेछ,’ उनले भने।



लोकपाटी न्यूज

