उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै, यस्तो छ संसदभित्रको अंकगणित

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ। शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो।

निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन भने नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन्। यसैगरि नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ। उनले पनि उपसभामुखको उमेदवारी दर्ता गराएकी छन्। भट्टराईको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन भने चार जना निलम्बनमा परेका छन्। बाँकी रहेका २ सय ६६ जनाले मतदान गर्न पाउँछन्।

१३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भने अहिले ९८ जना सांसद मात्रै छन्। यस अंकगणितलाई आधार मान्ने हो भने उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुने करिब पक्का जस्तै छ। यदि त्यसो भएको खण्डमा एमालेबाट विद्या भट्टराई हार्ने छन्।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन। लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ। यदि लोसपा र जसपाले गठबन्धनकी उम्मेदवारलाई मत नदिए परिणाम उल्टिन सक्ने एमालेका नेताहरुको दाबी छ। जसपा पनि अहिले विभाजनको संघारमा रहेकाले गठबन्धनको पक्षमा खुलेर मत दिने सम्भावना नरहेको विश्लेषण भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्