काठमाडौं, १३ असार। स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्। रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो।
स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरूलाई उपस्थितिको लागि आह्वान गरेका छन्। राष्ट्रिय भेलालाई ‘संयुक्त विशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ।
कार्यक्रममा स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष, निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहीलाई सही र गलतलाई गलत भन्ने देशभरिको जमातलाई स्वतन्त्रको रूपमा हेरिने बताए । उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरूको लहर नै चलेको दाबी गरे।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङसहित ३८५ जना जनप्रतिनिधि निर्वाचित भएसँगै अबको स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारमात्र जान पर्ने नीति स्थापित गर्नुपर्नेमा जोड दिए। सुवेदीले स्वतन्त्रहरूको उदय हुनु देशकै महत्वपूर्ण उपलब्धि भएको बताए। स्वतन्त्रहरू परिवर्तन चाहने भन्दै उनले नेपालमा व्यवस्था परिवर्तत भएपनि आम जनताको अवस्था परिवर्तन नभएको बताए। सुवेदीले देशमा धेरैपटक विभिन्न नीति आएपनि कार्यान्वयन नभएको भन्दै दुखेसो पोखे।
उनले भने, ‘नेताहरूको चित्रमा परिर्वतन आए पनि उनीहरूको चरित्र परिवर्तन भएको छैन।’ प्रणालीगत समस्यालाई चिरेर मुलुक अब परिवर्तनको दिशामा जानुपर्नेमा उनले जोड दिए। हाल मुलुक राजनीतिक भागवण्डा र राजनीतिक सिण्डिकेटले अस्तव्यस्त भइसकेको भन्दै स्वतन्त्र उम्मेदवारहरुले परिवर्तन चाहेको उनले बताए।



लोकपाटी न्यूज

