मस्को। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन्।
रुस भ्रमणको अन्तिम दिन बिहीबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन्। नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न मन्त्री अथकले आग्रह गरे।
विगतका असहजता र समस्याहरूलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए। विदेशमा आर्जन गरेको सिप र स्वीफ्ट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री अथकले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरूलाई आग्रह गरे।
अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री अथकले दाबी समेत गरे। कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गर्नुभएका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



लोकपाटी न्यूज

