बजेट परम्परागत र कामचलाउ मात्र छ : सोनल

jitendra_sonal
लोकपाटी न्यूज

जनकपुर। मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन्। प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले बजेट परम्परा धान्ने र टालटुले मात्र रहेको बताएका हुन।

‘बजेटमा प्रादेशिक गौरबका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन्,’ पूर्वमन्त्रीसमेत रहेका उनले भने, ‘अहिलेको बजेटमा युवाहरूको बेरोजगारीको सबाललाई जोड दिनुपर्ने थियो, त्यो पनि छैन। कृषि उत्पादन र किसानहरूलाई सहजरूपमा मलखाद र बीउबिजन उपलब्ध गराउने कुरा पनि बजेटमा छैन।’

भौतिक पूर्वाधार विकासका कुरालाई बजेटमा प्राथमकिता नदिएको उल्लेख गर्दै नेता सोनलले समग्रमा अहिलेको बजेटमा खासै आकर्षण र नयाँपन नरहेको बताए। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले अहिलेको बजेट चुनावमुखी र नेतामुखी रहेको प्रतिक्रिया दिए।

उनले चुनावलाई केन्द्रित गरेर मन्त्रीहरूले बजेटमा आफ्नो क्षेत्रलाई प्राथमकिता दिएको आरोप लगाए। नेता मण्डलले भने, ‘यसपालिको बजेटमा अधिकांश योजनाहरूमा रकम तोकिएरै विनियोजन गरिएको छ।’ यो बजेटको साकारात्मक पक्ष हो उनको कथन थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्