एमालेले चुनाव मात्र होइन, महासंग्राम जित्यो : केपी ओली

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन्। राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले चुनाव नभए महासंग्राम जितेको संज्ञा दिए।

‘एमालेलाई कब्जा गरेर सिद्धाउन खोजेका थिए। मलाई समेत साधारण सदस्यबाटै निकाल्न खोजेका थिए,’ उनले भने, ‘नेतृत्व नै विस्थापित गर्ने काममा लागेका थिए। हामीले ती प्रयासमा जीवन मरणको लइाइँ लडेका थियौँ। एमालेले लडेको जीवन मरणको लडाइँ जितेर यहाँ आयौँ।’ उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए।

‘हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौं,’ उनले भने, ‘उनले भने, ‘तपाईंहरु यसपल्ट चुनाव मात्रै लड्नुभएन। स्थानीय तहको निर्वाचनका रुपमा एउटा महासंग्राम आयो। महासंग्राममा भाग लियौं। हामीले लड्यौं। तपाईं एउटा अधिनायकवाद विरुद्ध लड्नुभएको हो। लोकतन्त्रको नाम जप्ने तानाशाही दमनकारी शासन विरुद्ध लड्नुभएको हो।’

ओलीले पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षमा सक्षम बन्नेगरी काम गर्न निर्देशन दिए। उनले कार्यकाल पूरा गर्दा आफ्नो नाम हाईहाई हुनेगरी काम गर्न शुभकामना पनि दिए। ‘तपाईंहरूले पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाईहाई होस्। आलोचना सुन्न नपरोस्। प्रशंसा होस्। स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमुना हुनुस्,’ उनले भने, ‘जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस्। जनताको सेवामा सधैँ तत्पर रहन सक्नुस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्