सेवा निर्यातलाई प्राथमिकतामा राखिएको छ : अर्थमन्त्री शर्मा

लोकपाटी न्यूज

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताउनुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित आ‍ईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बजेटले रेमिट्यान्सको रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने महत्त्वकाङ्क्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरू, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने पनि बताउनुभयो । उहाँले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै त्यसमा पनि आवश्यक सुधार गरिने बताउनुभयो । उहाँले नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी विभिन्न क्षेत्रको लगानी भित्र्याउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । लगानी भित्र्याउने र हामीसँग भएको पुँजीको परिचालन गर्ने कुराबाट तरलतालाई कम गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

मन्त्री शर्माले श्रमयोग्य जनशक्तिलाई उनीहरूको चाहनाअनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताउनुभयो । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कामलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्