प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

लोकपाटी न्यूज

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन्। आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए।

मुख्यमन्त्री राउतले भने, ‘यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन, यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति तथा कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने छौँ, प्रदेशका जनताको चाहना र समयसापेक्षअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने छौं।’

ऐन, कानुन निर्माण, प्रदेशको नामकरण र राजधानी टुंगो लगाउन सबै दलका प्रदेशसभा सदस्यले सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै उहाँले प्रदेश सरकारबाट प्रदेशसभामा प्रस्तुत हुने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आवश्यक सुझाव, सल्लाहसहित पारित गर्न आग्रह गरे।

प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेशी जनताको जीवनमा आमूल परिवर्तन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्दै सबै दलसँग सल्लाह गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए।

उनले प्रदेश सरकारले यही जेठ २२ गते ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै एकलौटी ढंगबाट नीति तथा कार्यक्रम ल्याइए विरोध जनाउने बताए। मधेस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गर्दै उनले प्रदेश सरकारले विशेष संकल्प प्रस्ताव ल्याएर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्