प्रधानमन्त्रीको कार्ड फाल्न थालिएको छ, प्रलोभनमा पर्दिनँ : माधव नेपाल

MK_Nepal
लोकपाटी न्यूज

सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए। मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको उनको भनाई छ।

‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए। यसको सुधार हुनुपर्छ। प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन्। पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने। यद्यपि स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको नेपालको दाबी छ।

नेपालले निर्वाचनका परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्रीको प्रलोभन दिन थालिएको बताए। उनले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताए। नेपालले आफूलाई कुनै लालच नभएको पनि बताए। ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका हो। म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन।’

उनले अहिलेको गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको पनि बताए। वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा नेपालले तत्काल दुवै सम्भावना नरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्