छोरीको जन्मदिनमा नयाँ पुस्तक

pic 4
लोकपाटी न्यूज

पोखरा। नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन्। के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ। साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए।

book

बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे। स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो। अमोर सेवा नेपालले अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको छ। कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको बताए।अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिवद्धता गरे।

सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेखरचना प्रकाशन गरेकोसमेत स्मरण गरे। उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिवद्धतासमेत गरे। सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो। पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौं। प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता गर्दछु।’

फेदीखोला १ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे। अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन्। उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्य कार्यका लागि भरपर्दो सहयोग हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा अमोर सेवा नेपाली अमृता गुरुङले पनि बोलेकी थिइन्।

‘साइकल’ सुरजको तेस्रो कृति हो। यसअघि उनको एक गजल संग्रह र चिल उड्यो आकासमा बाल कविता संग्रह प्रकाशन भइसकेका छन्। बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन्।

yes

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्