मकवानपुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा देशलाई जोश, जाँगर र आँट भएका युवा शक्तिको खाँचो भएको बताएका छन्। पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना आदानप्रदान गर्न मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन्।
नेपालले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी हुनुभएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँगै मिलेर काम गर्न अनुरोध गरे। उनले स्थानीय तहमा सामाजिक न्याय, सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिए। प्रमुख लामाले अब सामाजिक सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताए। -रासस



लोकपाटी न्यूज

