काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन काँग्रेसले सघाउनुपर्ने बताएका छन्। बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा उनले दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको बताए।
‘ठाउँ ठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ नि,’ देउवाले भने, ‘ स्मार्ट सिटीको कुरा उठाउनु भएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, यो सानो कुरा हो ? इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नु भएको छ, यो सानो कुरा हो ?’
रेनु दाहालले देखेका सपना साना कुरा नभएको देउवाले बताए। ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नु, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बने संसारभरका मानिस यहाँ आउँछन्। उहाँले देखेका यी सपना यहीँकै लागि हो। तपाईंहरूका लागि हो,’ उनले भने, ‘त्यही पनि रेनु भएन भन्नुहुन्छ, यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ?’ रेनुले आफ्नै कामले जितिसकेको पनि देउवाको भनाइ थियो।
उनले भरतपुरको मेयरमा दाहाललाई जिताउनु सबैको कर्तव्य भएको पनि बताए। देउवाले पार्टीका असन्तुष्ट पक्षलाई यस पटक सहयोग गरे अर्को पटक उहाँहरूबाट सहयोग लिन सकिने समेत बताए। ‘भोलि यहाँका हाम्रा साथीभाइले मौका पाइहाल्छन् नि राम्रो काम गर्नुहोस् न,’ उनले भने, ‘अहिले उहाँलाई सहयोग गर्नुहोस्, पछि हामीलाई सहयोग गर्न भनुमला। तर यो पटक हामीले सहयोग गरेर हेर्नुपर्यो नि हामीले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो काम गर्ने लाई हराए यहाँका जनताले के भन्लान्।’



लोकपाटी न्यूज

