चितवन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन्। सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गरे।
उनले भने, ‘राम्रोसँग व्यवस्थापन गरेका छौं।’ अहिले देशभर गठबन्धन भइदिए हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको उनले बताए। नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह पनि गरे। गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको उनले बताए।
नेपालले भरतपुरमा सत्ता गठबन्धनको विरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मुलुकको राजनीतिक भविष्यका लागि उम्मेदवारी फिर्ता गर्न आग्रह गरे। दलहरुबीच सहकार्य भएमात्रै मुलुकको राजनीतिक संकट टर्ने उनले भनाई छ। मुलुकको राजनीतिक संकट टार्नका लागि गरिएको गठबन्धनको जीत आवश्यक रहेको पनि उनले बताए।
‘राजनीतिक मान्छेले राजनीतिक रूपमा सोच्छ। आफूलाई केन्द्र विन्दुमा राख्दैन पुरै सिंगो पार्टीलाई ध्यानमा राख्छ,’ उनले भने, ‘आजसम्म नेपालको राजनीतिक परिवर्तनका लागि दुवै पार्टीले सहकार्य गर्दै आएका छन्। अनि मात्रै सफलता मिलेको छ। यसलाई ध्यानमा राखेर उहाँले उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको पक्षमा समर्थन गरेर अभियानमा जुट्नुभयो भने उहाँको इज्जत, प्रतिष्ठा, मर्यादा र राजनैतिक भविष्य राम्रो हुन्छ।’



लोकपाटी न्यूज

