रौतहट। रौटहटको चन्द्रपुर-६ को वडाध्यक्ष पदको लागि अर्जुन राउतले उम्मेद्वारी दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनको लागि राउतले राप्रपाको तर्फबाट वडाध्यक्ष पदको लागि उम्मेद्वारी दिएका हुन्। लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय राउत जनप्रीय नेताको रुपमा चर्चित रहेका छन्। २७ बुँदे प्रतिबद्धता लिएर मैदानमा उत्रेका राउतलाई भेटेपछि लोकपाटी रिपोर्टरले गरेको कुराकानी :
१. चुनावी माहोल कस्तो चल्दैछ राउतजी ?
उत्साहजनक नै छ। चुनावी माहोल त जहिले नि यस्तै नै हो, तर यसपटक हामी चुनाव पछाडिको माहोललाई लिएर उत्साहित छौँ।
२.तपाईंको व्यक्तिगत रुपमा जित्ने आधारहरु के-के छन् ?
मेरो जित्ने आधार भनेको स्थानीय जनताको साथ, राप्रपाको राष्ट्रिय नीति र मेरा कार्ययोजना नै हुन्।
३.एउटा धर्म विशेष र व्यक्ति विशेषका लागि राजनीति गर्ने कुरा अल्लि अव्यवहारिक भएन र राउतजी ?
कुनै व्यक्ति विशेषलाई राजा बनाउने अथवा कुनै जात विशेषले मान्ने धर्म स्थापित गर्ने कुरा मात्रै होइन, राजसंस्था र हिन्दुराष्ट्र भनेको नेपालको स्थायित्वको आधार हो। साथै हाम्रो राजनीति समृद्ध मुलुक निर्माणको आधारशिला पनि हो त्यसैले हाम्रो राजनीति अव्यवहारिक छैन।
४. तपाईंको २७ बुँदे प्रतिबद्धता जनताले किन पत्याउने ?
मैले अगाडि पनि उल्लेख गरे म जनभावनाको कदर गर्न उठेको हुँ। मैले बिगतमा समाजमा पु¥याएको योगदान र मेरो सादगीपनलाई देखेर नै मेरो पार्टी मलाई टिकट दिएको हो। यीनै कारण जनताले मेरो प्रतिबद्धता पत्याउँछन्।
५.तपाईंले गर्ने मुख्य कामहरू के-के हुन् ?
हामीले गर्ने सबै कामहरूलाई उत्तिकै प्राथमिकता दिने योजना छ। तथापि सरकारी सेवाको होम डेलिभरी,सुत्केरी भत्ता, स्वास्थ्य सुविधाको सहजीकरण, गरिब तथा बिपन्न न्यूनतम गाँस, बास र कपासको आवश्यकता परिपूर्ति आदिलाई बिशेष रूपमा लागू गर्नेछौं।
६.अन्त्यमा केही भन्न चहानुहुन्छ ?
सबै जनतालाई योग्य र सक्षम उम्मेद्वार छनोट गर्न अनुरोध गर्दछु।
धन्यवाद राउतजी !



लोकपाटी न्यूज

